काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा नेपालमा आज राष्ट्रिय शोक मनाइँदै छ।
सरकारले बाढीमा ज्यान गुमाएकाप्रति सम्मान प्रकट गर्न भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज देशभरका सरकारी कार्यालयका साथै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार साँझसम्म बाढीका कारण मृत्यु भएकामध्ये १ हजार ३४२ जनाको शव फेला परेको छ। विपद्मा परी अझै ३ हजार ९९२ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये ५३० जना पुरुष र ३२८ जना महिला रहेका छन्। थप ४९५ वटा शवको भने हालसम्म पहिचान खुल्न सकेको छैन। सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला छन्। त्यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
विपद्पछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै शव व्यवस्थापनको कामलाई पनि निरन्तरता दिइएको छ। हालसम्म फेला परेका शवमध्ये १ हजार ४४ वटा शव सुरक्षित रूपमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया जारी छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट अहिलेसम्म १३ हजार ३९९ जनाको उद्धार भइसकेको छ। कठिन भौगोलिक अवस्था, अवरुद्ध सडक र तीव्र नदीको बहावका बीच नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्याका सुरक्षाकर्मी उद्धार कार्यमा परिचालित छन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज, उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका हवाई साधनबाट १ हजार ४५ पटक तथा निजी क्षेत्रका हवाई साधनबाट १२९ पटक उडान गरी उद्धार तथा राहत कार्य सञ्चालन गरिएको छ।
उद्धार गरिएका नागरिकको व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। हाल ती केन्द्रमा ३ हजार ९१२ जना रहेका छन्। बाढी तथा पहिरोबाट प्रभावित र घाइतेलाई स्वास्थ्य सेवा दिने कामसमेत भइरहेको छ। अहिलेसम्म ६ हजार ७३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
बेपत्ता नागरिकको पहिचान तथा फेला परेका शवको सनाखतका लागि डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। प्रहरीले हालसम्म मृतक १ हजार १८१ जना र उनीहरूका आफन्त १ हजार १९५ जनासहित २ हजार ३७६ जनाको डिएनए नमुना संकलन गरिएको जनाएको छ।
भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिको पहिचान, बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा निरन्तर खटिरहेका छन्।

