बारा, भदौ २४। बाराको कोल्हवी नगरपालिका–२ बौधा टोलस्थित राम विनोद दास तामाङको घरबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुको छाला र चराको चुच्चो बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार करिब १२:३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले राम विनोद दास तामाङको घरमा खानतलासी गरेको थियो।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कोल्हवी र कोल्हवी सबडिभिजन वन कार्यालय बाराको संयुक्त टोलीसहित गरिएको खानतलासीका क्रममा लोडेड अवस्थामा रहेको भरुवा बन्दुक दुई थान, हरिणको जस्तो देखिने छाला एक थान र धनुष चराको जस्तो देखिने चुच्चो एक थान फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामग्री इलाका प्रहरी कार्यालय कोल्हवीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनाबारे सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।

