काठमाडौं, माघ ८, २०८२ (बिहीबार) – प्रधानमन्त्री सुशीला कार्कीले संसद भवनमा जेनजी आन्दोलनका सहिदहरूको शालिक स्थापना सम्बन्धी प्रगतिका विषयमा जानकारी लिइन्।
प्रधानमन्त्री कार्कीले बिहीबार सिंहदरबारमा सम्बन्धित मन्त्री तथा अधिकारीहरूलाई बोलाएर निर्माणाधीन संसद भवन परिसरमा सहिद शालिक राख्ने योजना बारे छलफल गरेकी हुन्। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानी मन्त्री मदन परियार, र सहरी विकास मन्त्री कुमार इङ्नाम सहभागी थिए।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सहल्लाहकार गोविन्दनारायण तिमिल्सिना, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय, सहरी विकास सचिव गोपाल सिग्देल, र कानुन सचिव पाराश्वर ढुंगाना पनि छलफलमा सहभागी भएका थिए।
सहरी विकास सचिव सिग्देलले शालिक राख्न योग्य स्थान र सम्भावित डिजाइनबारे जानकारी दिएर सुझाव तथा निर्देशन मागेका थिए। प्रधानमन्त्री कार्कीले यस विषयमा ढिला नगरी संसद भवन निर्माण गुरुयोजना संशोधन गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएकी छिन्।
सरकारले जेनजी आन्दोलनका सहिदको बलिदान र त्यागलाई सम्मान गर्ने, न्याय र अर्थपूर्ण स्मरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। शालिक स्थापना परियोजना पूरा भएपछि संसद भवन परिसरमा सहिदको योगदानलाई सम्मान जनाउने विशेष स्थल तयार हुने छ।

