सिडिओ धर्मेन्द्र मिश्रको सरुवा फिर्ता नभए ठुलो आन्दोलन गर्ने जेन्जी सयोजक पाण्डेको चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, ४ पुस । जेनजी कलैया र नगरपालिकाका अध्यक्ष सौरभ पाण्डेयले बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको अवधि नपुग्दै गरिएको सरुवाको कडा विरोध गरेका छन् । ४६ दिनमै सिडिओ सरुवा गर्ने निर्णय राजनीतिक चलखेलको परिणाम भएको आरोप लगाउँदै सरुवा तत्काल फिर्ता नभए जिल्लाभर ठुलो आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

कात्तिक १८ गते मात्र बारामा हाजिर भएका सिडिओ मिश्रलाई मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश सचिवको जिम्मेवारीमा सरुवा गरेको थियो । तर छोटो समयमै गरिएको सरुवाले बारा जिल्लामा पुनः राजनीतिक हस्तक्षेप सुरु भएको संकेत देखिएको जेनजी र स्थानीय नागरिक अगुवाहरूको भनाइ छ ।

जेनजी कलैयाका अनुसार सिडिओ मिश्रले बारा जिल्लालाई नमूना जिल्ला बनाउने लक्ष्यसहित शान्ति सुरक्षा सुदृढीकरण, भ्रष्टाचार न्यूनीकरण र प्रशासनिक सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । विशेषगरी कलैयाको घण्टाघरदेखि उत्तरतर्फको बहुप्रतिक्षित ३ किलोमिटर सडक निर्माण कार्य अघि बढाउन उनले महत्वपूर्ण सहयोग पुर्‍याएको जनाइएको छ ।

यस विषयमा प्रतिक्रिया दिँदै जेनजी कलैया नगरपालिकाका अध्यक्ष सौरभ पाण्डेयले सिडिओ मिश्रको सरुवा अन्यायपूर्ण र दुर्भाग्यपूर्ण भएको बताए ।
“हाम्रो जिल्लालाई राम्रो बनाउने प्रयास गरिरहेका प्रमुख जिल्ला अधिकारीलाई राजनीतिक स्वार्थका कारण हटाइएको हो । कसैले राम्रो गर्न खोज्दैमा सरुवा गरिन्छ भने हामी चुप लागेर बस्दैनौं,” पाण्डेयले भने ।

उनले सिडिओ मिश्रको सरुवा तत्काल स्थगित नगरे ठुलो आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । सरुवाको विरोधमा शनिबार कलैयाको भरत चौकमा टायर बालेर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।

सिडिओ मिश्रको अकस्मात् सरुवाले बारा जिल्लामा प्रशासनिक स्थायित्व कमजोर हुने, विकास निर्माणका काम प्रभावित हुने र जिल्लामा पुनः राजनीतिक चलखेल बढ्ने जेनजी तथा स्थानीयवासीको चिन्ता रहेको छ । उनीहरूले सरकारसँग निर्णय पुनरावलोकनको माग गरेका छन् ।

Leave a Comment