काठमाडौँ, असोज ७-शिक्षा तथा खेलकुद मन्त्रालयले भीषण वर्षा तथा त्यसबाट हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ।
मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइमार्फत स्थानीय तहलाई पठाएको पत्रमा मौसम प्रतिकूल बन्न सक्ने भन्दै विद्यार्थीको सुरक्षा र
जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्न अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, केही स्थानमा हावाहुरी र चट्याङसमेत पर्न सक्ने पूर्वानुमान रहेकाले विद्यालय सञ्चालनका विषयमा स्थानीय परिस्थितिअनुसार निर्णय लिन भनिएको छ।
यस्तै, विश्वविद्यालय तथा विभिन्न परीक्षा सञ्चालन गर्ने निकायलाई पनि असोज ९ देखि ११ गतेसम्म निर्धारित परीक्षा आवश्यकताअनुसार स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ।
सम्भावित विपद्का बेला सुरक्षित विद्यालय भवनलाई आवश्यकता परे अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहले सहजीकरण गर्नुपर्ने मन्त्रालयको भनाइ छ।
मन्त्रालयले अभिभावकलाई पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ। बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम रहेका क्षेत्रमा जान नदिन र प्रतिकूल मौसमका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरिएको छ।

