काठमाडौँ, असोज ७-शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधनको प्रक्रिया दसैँअघि नै पूरा गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन्।
मन्त्री पोखरेलले बुधबार मन्त्रालयका सचिवसहित उच्च अधिकारी तथा आफ्नो सचिवालयसँग छलफल गर्दै संशोधनको मस्यौदा छिटो तयार पारेर नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने गरी काम गर्न निर्देशन दिएका हुन्।
शिक्षा नियमावलीको दशौँ संशोधनपछि विभिन्न प्रावधानलाई लिएर गुनासा तथा असन्तुष्टि देखिएपछि मन्त्रालयले सरोकारवालाबाट सुझाव संकलन गर्दै आएको छ। सोही क्रममा एघारौँ संशोधनमार्फत देखिएका समस्या सम्बोधन गर्ने तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिसँग सम्बन्धित जटिलता लगायतका विषयलाई संशोधनको मस्यौदामा समेट्ने तयारी गरिएको छ।
संशोधनका विषयमा मन्त्रालयले विभिन्न चरणमा सरोकारवालासँग छलफल गरेको थियो। सातै प्रदेशमा शिक्षा संवाद तथा अन्तरक्रिया आयोजना गरी सुझाव लिइएको थियो भने केही छलफलमा मन्त्री पोखरेल स्वयं सहभागी भएका थिए।
शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी तथा विज्ञको टोलीले विभिन्न क्षेत्रबाट प्राप्त सुझाव संकलन गरेको मन्त्रालयले जनाएको छ।
मन्त्री पोखरेलले सरकारले चालु वर्षलाई कानुन निर्माणको वर्षका रूपमा अघि बढाएको सन्दर्भ उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रमा पर्ने ऐन तथा नियमावलीका कामलाई पनि शीघ्र टुंगोमा पुर्याउन निर्देशन दिएका छन्।
मन्त्रालयका अनुसार दशौँ संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवालगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने उद्देश्यले शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार पार्ने काम भइरहेको छ।

