लगातारको वर्षा : जिल्लास्तरीय प्रशासन कार्यालयहरूको सूचना, सतर्क रहन आग्रह

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, असोज १८ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८ देखि २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्लास्तरीय प्रशासन कार्यालयहरूले आम जनतालाई सतर्क रहन आग्रह गरेका छन् ।

विभागका अनुसार यस अवधिमा पानीको तीव्रता बढ्दा बाढी, पहिरो तथा डुबान जस्ता विपद् उत्पन्न हुन सक्ने भएकाले नदी–नाला र खोलानजिक बसोबास गर्ने जनतालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी काठमाडौं उपत्यका प्रवेशद्वार नागढुंगा, तराईका मुख्य राजमार्ग तथा भिरालो भूभागमा बसोबास गर्नेहरूलाई यात्रा नगर्न चेतावनी दिइएको छ ।

मकवानपुर, बारा र कैलाली जिल्ला प्रशासन कार्यालयहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै असोज १८ देखि २० गतेसम्म हुने सम्भावित जोखिमबारे सचेत रहन निर्देशन दिएका छन् । सूचनामा अनावश्यक बाहेकका सबै किसिमका सवारी साधन पूर्णरूपमा रोक्न, आवश्यक परे नजिकको प्रहरी इकाइमा सम्पर्क गर्न, साथै आपतकालीन अवस्थाको लागि तयारी अवस्थामा रहन भनिएको छ ।

सडक विभाग, स्थानीय तह, सुरक्षाकर्मी, रेडक्रस, स्काउट, सामुदायिक संस्था र आम नागरिकलाई विपद् व्यवस्थापनमा सक्रिय रहन आह्वान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई तयारी अवस्थामा रहन र राहत तथा उद्धारका लागि आवश्यक सामग्री उपलब्ध गराउन समेत निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको सूचनामा भनिएको छ, “विपद् व्यवस्थापनमा कसैलाई पनि ढिलासुस्ती नगरी तत्काल जानकारी र सहकार्य गर्नुपर्ने अवस्था आएको छ । नागरिकहरूलाई अनावश्यक यात्रा नगरी घरमै सुरक्षित रहन, जोखिम क्षेत्र छोड्न र प्रहरी वा स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रहन अनुरोध गर्दछौं।”

Leave a Comment