२ मंसिर,काठमाडौँ । नेकपा (एमाले)को जारी महाधिवेशनअन्तर्गत बुधबारदेखि सुरु भएको मतदानमा प्यानलभन्दा बाहिर गएर मत हाल्ने प्रवृत्ति देखिएको छ। मतदान सकेर बाहिर निस्किएका प्रतिनिधिहरूले अध्यक्षबाहेक अन्य पदमा दुवै पक्षका उम्मेदवारलाई छानेर मत दिएको बताएका छन्।
भृकुटीमण्डपस्थित मतदान केन्द्रमा भेटिएका प्रतिनिधिहरूका अनुसार पार्टीभित्रको ध्रुवीकरण कम गर्न पदाधिकारी तहमा ‘मिक्स भोट’ आवश्यक ठानेर आफूले रोजाइ गरेका उम्मेदवारलाई मत दिएका हुन्। एक प्रतिनिधिले भने, “प्यानल हेरेर होइन, पार्टीलाई एकताबद्ध राख्न सक्ने उम्मेदवार छानेर मत हालेँ।”
कतिपय प्रतिनिधिले अध्यक्षमा भने प्यानलअनुसार मतदान गरे पनि महासचिव, उपाध्यक्ष र सचिव पदमा व्यक्तिगत मूल्याङ्कनका आधारमा मत दिएको बताएका छन्। महासचिव पदमा विशेष प्रतिस्पर्धा देखिएको र यही तहमा सबैभन्दा धेरै ‘क्रस भोटिङ’ भएको प्रतिनिधिहरूको भनाइ छ।
अर्का एक मतदाताले भने, “अध्यक्षपछि पार्टी चलाउने मुख्य जिम्मेवारी पदाधिकारीकै हुन्छ, त्यसैले दुवै प्यानलबाट सन्तुलित नेतृत्व आउनुपर्छ भन्ने सोचले मत दिएँ।”
एमाले अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे मैदानमा छन्। पार्टीका १९ पदाधिकारी तथा ३०१ केन्द्रीय सदस्य पदका लागि दुवै पक्षले आ–आफ्ना उम्मेदवार उठाएका छन्।
बुधबार बिहान ८ बजेदेखि सुरु भएको मतदान राति १० बजेसम्म सकिने अनुमान गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशनमा २ हजार २ सय ६३ मतदाता छन् भने उम्मेदवारको संख्या साढे ६ सय नाघेको छ। विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएकाले मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने आयोगले जनाएको छ।






