समानुपातिक सूची बुझाउने समय नजिकिँदा कांग्रेस–एमाले ‘निर्णायक बैठक’मा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, पुस १३ – आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने समय नजिकिँदै जाँदा प्रमुख राजनीतिक दल कांग्रेस र एमाले उम्मेदवार छनोटमा निर्णायक चरणमा पुगेका छन्। निर्वाचन आयोगमा आज र भोलिसम्म सूची बुझाउनुपर्ने भएकाले दुवै दलले आज उच्चस्तरीय बैठक बोलाएका हुन्।

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छनोटका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बिहान ११ बजे सानेपामा बस्दैछ। पछिल्ला चार दिनदेखि जारी बैठक आज र भोलि मुख्यतः उम्मेदवार छनोटमै केन्द्रित रहने पार्टीले जनाएको छ।

कांग्रेसले पुसको पहिलो साताभित्र सबै जिल्लाबाट उम्मेदवारको सिफारिस संकलन गरिसकेको छ। हिजो बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले मापदण्ड तय गरी प्रक्रिया अघि बढाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसपटक उम्मेदवार छनोटका लागि छुट्टै संसदीय समिति नबनाइएको जनाइएको छ।

यता नेकपा एमालेले पनि आज सचिवालय बैठक बोलाएको छ। बिहान ११ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा निर्वाचनको तयारी र समानुपातिक उम्मेदवार चयनबारे छलफल हुने पार्टी सचिव राजन भट्टराईले बताए।

यद्यपि निर्वाचनमा सहभागी हुनेबारे एमालेले औपचारिक निर्णय गरिसकेको छैन। तर पार्टी आन्तरिक रूपमा निर्वाचन तयारीमा जुटेको छ। हिजो प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको छलफलमा सहभागी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट नभाग्ने तर निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारको हुने धारणा राखेका थिए।

निर्वाचन आयोगको समयसीमा नजिकिँदै जाँदा प्रमुख दलहरूका बैठक र निर्णयले समानुपातिक उम्मेदवारको अन्तिम सूची कस्तो आउँछ भन्ने विषयमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।

Leave a Comment