रामराजा क्याम्पसको वार्षिकोत्सव सम्पन्न, स्थानीय सरकार–क्याम्पस सहकार्यमा जोड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१५ पुस,कलैया, बारा ।
बाराको जेठो शैक्षिक संस्थाका रूपमा परिचित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस, कलैयाले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
समारोहका प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले क्याम्पसले बारा जिल्लामा उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
उनले शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्न सदैव तयार रहेको स्पष्ट पारे। शिक्षा व्यवहारिक, अनुसन्धानमुखी र रोजगारमैत्री हुन क्याम्पस, समुदाय र सरकारबीच समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो।
कार्यक्रमको अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर चौरसियाले गरेका थिए। उनले क्याम्पसको स्थापना कालदेखि हालसम्मको शैक्षिक यात्रा, उपलब्धि र भावी योजनाबारे जानकारी गराउँदै शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासले क्याम्पसलाई अझ सुदृढ बनाइने बताए।
क्याम्पस प्रमुख निवेश तिमिल्सिनाले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीलाई लक्षित गरी गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको उल्लेख गरे। उनले क्याम्पसको पूर्वाधार र शैक्षिक गतिविधि विस्तारका लागि स्थानीय सरकारको थप सहयोग आवश्यक रहेको धारणा राखे।
वार्षिकोत्सवका अवसरमा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो भने सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थी प्रतिभा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख अमित मिश्रले गर्नु भएको थियो।

Leave a Comment