१७ पुस, काठमाडौं । स्विट्जरल्यान्डको प्रसिद्ध पर्यटकीय सहर क्रान्स–मोन्टानास्थित एक रिसोर्टमा भएको भीषण विष्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन्।
स्थानीय समयअनुसार बुधबार राति करिब १ः३० बजे स्की रिसोर्टभित्र रहेको एक बारमा विष्फोट भएको बीबीसीले जनाएको छ। नयाँ वर्षको उत्सव मनाउन रिसोर्टमा भेला भएका व्यक्तिहरू लक्षित भएको बताइएको छ।
स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै द मिररले विष्फोटमा परी १० जनाको मृत्यु हुनुका साथै करिब १०० जना घाइते भएको जानकारी दिएको छ। घटनाको समयमा रिसोर्ट परिसरमा ३०० भन्दा बढी मानिस उपस्थित थिए।
विष्फोटलगत्तै रिसोर्टमा आगलागी फैलिएको थियो। आगो र धुवाँका कारण त्रास फैलिँदा ज्यान जोगाउन मानिसहरू भागाभाग गरेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा आगोको ज्वाला र धुवाँले रिसोर्ट क्षेत्र ढाकिएको देखिन्छ।
क्रान्स–मोन्टाना स्विस आल्पस पर्वत श्रृंखलामा अवस्थित सुविधासम्पन्न स्की रिसोर्ट सहर हो। यो सहर स्विट्जरल्यान्डको राजधानी बर्नबाट करिब दुई घण्टाको दूरीमा पर्दछ र विशेषगरी बेलायती पर्यटकहरू माझ लोकप्रिय गन्तव्यका रूपमा चिनिन्छ।
विष्फोटको कारणबारे अनुसन्धान सुरु गरिएको स्विस अधिकारीहरूले जनाएका छन्।

