एन्फा महिला च्याम्पियनसिपको उपाधि एपीएफलाई

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

आइतबार १० फागुन, २०८२— एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपीएफ क्लबले जितेको छ। शनिबार भएको फाइनलमा अर्को विभागीय टोली लाई २–१ गोलअन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो।

उदयपुरको गाईघाटस्थित थरूहट रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा एपीएफले आक्रामक खेल प्रदर्शन गर्दै अग्रता बनायो। खेलको ५५औँ मिनेटमा गीता रानाले गोल गर्दै एपीएफलाई अघि बढाइन्।

त्यसपछि ६८औँ मिनेटमा रेणुका नगरकोटीले अर्को गोल थपेपछि एपीएफले २–० को बलियो अग्रता बनाएको थियो। ७१औँ मिनेटमा जेनिफर रानाले आर्मीका लागि गोल फर्काउँदै खेलमा दबाब सिर्जना गरे पनि त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन।

जितसँगै एपीएफले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझायो।

व्यक्तिगततर्फ एपीएफकी रश्मी कुमारी घिसिङ प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटसहित ५० हजार रुपैयाँ पुरस्कार जितिन्। आर्मीकी दीपा शाही प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन्। उत्कृष्ट गोलकिपरको उपाधि एपीएफकी अञ्जना रानामगरले हात पारिन्।

Leave a Comment