मिति : आइतबार, २० पुस २०८२
हेटौंडा । चितवनको त्रिशूली नदीमा नुहाउने क्रममा सुपर त्रिशूली हाइड्रोपावर आयोजनामा कार्यरत दुई जना कामदार बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि आइतबार बिहानदेखि गोताखोरसहितको टोली परिचालन गरिएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिक शनिबार दिउँसो नदीमा नुहाउँदै गर्दा दुई युवक बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–२ बनसरा निवासी २१ वर्षीय शंकर चौधरी र राजापुर नगरपालिका घर भएका २२ वर्षीय सौरभ थारु रहेका छन्।
घटनास्थल नजिकै कपडा, मोबाइल फोन, चप्पल र लाइटर फेला परेपछि उनीहरू नदीमा डुबेको आशंकामा खोजी कार्य अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। शनिबार साँझसम्म उनीहरू फेला नपरेपछि आइतबार बिहानैदेखि खोजी कार्य पुनः सुरु गरिएको हो।
बेपत्ता दुवै जना सुपर त्रिशूली हाइड्रोपावर आयोजनामा काम गर्ने मजदुर रहेको प्रहरीले पुष्टि गरेको छ। खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनघाटबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको छ।
त्रिशूली नदीको बहाव तीव्र रहेकाले खोजीमा कठिनाइ भइरहेको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ।

