काठमाडौँ, पुस २३ । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया आजबाट औपचारिक रूपमा अघि बढ्दैछ । निर्वाचन आयोगले देशभर आज उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्न सक्नेछन् । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन तय गरिएको छ ।
राष्ट्रियसभामा हाल रहेका सदस्यहरूमध्ये आगामी फागुन २० गतेदेखि १८ जनाको कार्यकाल समाप्त हुँदैछ । सोही रिक्त पद पूर्ति गर्न निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ भने पुस २७ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन अन्तिम उम्मेदवार सूची प्रकाशन गरिनेछ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता संख्या र मतभारसमेत सार्वजनिक गरिसकेको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालबीच सहकार्य हुने संकेत देखिएको छ ।
राष्ट्रियसभा निर्वाचनलाई संघीय राजनीतिक समीकरणको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ ।



