भेनेजुएलाको स्वतन्त्रता संघर्षको सम्मान भन्दै मचाडोले ट्रम्पलाई दिइन् नोबेल शान्ति पुरस्कारको मेडल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, २ माघ २०८२ ।
भेनेजुएलाकी प्रमुख विपक्षी नेता मारिया कोरिना मचाडोले आफूलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कारको मेडल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेकी छन्। ह्वाइट हाउसमा बिहीबार भएको भेटका क्रममा मचाडोले ट्रम्पलाई उक्त मेडल दिएकी हुन्।

भेटपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै मचाडोले भनिन्, “मैले राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको मेडल प्रदान गरेँ।” उनका अनुसार यो कदम भेनेजुएलाको स्वतन्त्रता र लोकतन्त्रप्रति ट्रम्पले देखाएको प्रतिबद्धताको सम्मानस्वरूप उठाइएको हो।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध सैन्य हस्तक्षेप गरी नियन्त्रणमा लिएपछि मचाडो र ट्रम्पबीच भेट भएको हो। सो घटनापछि भेनेजुएलाको राजनीतिक भविष्य र अन्तर्राष्ट्रिय समर्थनको विषय विश्वव्यापी चासोको केन्द्रमा परेको छ।

मेडल हस्तान्तरणको प्रसंगमा मचाडोले ल्याटिन अमेरिकाका ऐतिहासिक क्रान्तिकारी सिमोन बोलिभरको उदाहरण प्रस्तुत गरिन्। उनले सम्झाइन्, “दुई सय वर्षअघि फ्रान्सेली सेनापति मार्क्विस डी लायाफेटले सिमोन बोलिभरलाई जर्ज वाशिंगटनको अनुहार अंकित मेडल दिएका थिए, जुन बोलिभरले जीवनभर आफ्नै साथमा राखे।”

उनले थपिन्, “आज इतिहासले अर्को मोड लिएको छ। दुई सय वर्षपछि बोलिभरका सन्तानहरूले वाशिंगटनका उत्तराधिकारीलाई एउटा मेडल फिर्ता दिइरहेका छन्—यसपटक नोबेल शान्ति पुरस्कारको मेडल, हाम्रो स्वतन्त्रताप्रतिको उहाँको प्रतिबद्धताको सम्मानमा।”

सिमोन बोलिभर दक्षिण अमेरिकामा अत्यन्त सम्मानित व्यक्तित्व मानिन्छन्। उनले भेनेजुएला, कोलम्बिया, इक्वेडर, पेरु लगायत देशहरूको स्वतन्त्रतामा निर्णायक भूमिका खेलेका थिए। उनको सम्मानमा भेनेजुएलाको आधिकारिक नाम ‘बोलिभेरियन रिपब्लिक अफ भेनेजुएला’ राखिएको छ भने बोलिभिया देश पनि उनको नामबाट नामाकरण गरिएको हो।

ट्रम्प र नोबेल शान्ति पुरस्कार

डोनाल्ड ट्रम्पले विगत लामो समयदेखि नोबेल शान्ति पुरस्कार पाउने इच्छा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्। उनले आफूलाई पुरस्कार नदिएको भन्दै नोबेल कमिटी र नर्वे सरकारको आलोचना समेत गर्दै आएका छन्। यद्यपि, गत वर्ष नोबेल कमिटीले शान्ति पुरस्कार मचाडोलाई प्रदान गर्ने निर्णय गरेको थियो। पुरस्कार प्राप्त गरेपछि मचाडोले उक्त सम्मान ट्रम्पलाई समर्पित गरेकी थिइन्।

यसैबीच, नोबेल कमिटीले भने पुरस्कारसम्बन्धी नियम स्पष्ट पारेको छ। कमिटीका अनुसार नोबेल शान्ति पुरस्कारको मेडल कसैलाई दिन वा बेच्न सकिए पनि, पुरस्कारको आधिकारिक हैसियत भने हस्तान्तरण गर्न मिल्दैन।

नोबेल पीस सेन्टरले सामाजिक सञ्जालमार्फत स्पष्ट गर्दै भनेको छ, “एकपटक नोबेल पुरस्कार घोषणा भइसकेपछि त्यसलाई रद्द गर्न, बाँड्न वा अरू व्यक्तिलाई ट्रान्सफर गर्न सकिँदैन। विजेताको नाम अन्तिम र स्थायी हुन्छ।”

यस घटनाले नोबेल शान्ति पुरस्कार, अन्तर्राष्ट्रिय राजनीति र भेनेजुएलाको शक्ति संक्रमणलाई लिएर नयाँ बहस जन्माएको छ।

Leave a Comment