निर्वाचन आयोगको निर्णयपछि कांग्रेसमा निर्णायक मोड गगन थापालाई आधिकारिकता, देउवा पक्ष कानुनी लडाइँको तयारीमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, माघ २, २०८२ । निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै नेपाली कांग्रेसको आन्तरिक विवाद निर्णायक मोडमा पुगेको छ । आयोगले गगन थापाको नेतृत्वलाई पार्टीको आधिकारिक हैसियत दिएपछि लामो समयदेखि चल्दै आएको आधिकारिकता विवाद औपचारिक रूपमा टुंगिएको हो ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई वैधानिक सभापति मानेसँगै पार्टीको नाम, चुनाव चिह्न र केन्द्रीय संरचनामाथि उनको नेतृत्व स्थापित भएको निर्वाचन आयोगको निर्णयमा उल्लेख छ ।

आयोगको फैसलापछि कांग्रेसभित्र नयाँ नेतृत्वले आजै पहिलो औपचारिक बैठक बस्ने तयारी गरेको छ । आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण र विवाद व्यवस्थापनसम्बन्धी प्रारम्भिक निर्णयहरू लिने तयारी छ ।

तर निर्वाचन आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ । देउवा समूहले निर्णय एकपक्षीय रहेको दाबी गर्दै कानुनी उपचारको बाटो रोज्ने संकेत दिएको छ । देउवा निकट नेताहरूले पार्टी विधान, महाधिवेशन प्रक्रिया र सदस्यता विवादका विषयमा अदालत जाने तयारी भइरहेको बताएका छन् ।

यसैबीच गगन थापाले निर्वाचन आयोगको निर्णयलाई पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाको जित भएको टिप्पणी गरेका छन् । उनले सबै पक्षलाई संवाद र सहकार्यका लागि आह्वान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार आयोगको निर्णयले कांग्रेसभित्र शक्ति सन्तुलन नयाँ चरणमा प्रवेश गरेको छ । यद्यपि देउवा पक्षको सम्भावित कानुनी चुनौतीका कारण विवाद तत्काल अन्त्य नहुने देखिन्छ ।

Leave a Comment