काठमाडौं, १५ माघ — पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। रुघा, खोकी र ज्वरोसँगै सास फेर्न असहज भएपछि उनी बुधबार उपचारका लागि अस्पताल पुगेका हुन्।
प्रारम्भिक रूपमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका नेपाललाई त्यहाँ क्याबिन अभाव भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सारिएको अस्पताल स्रोतले जनाएको छ। यद्यपि, उनको उपचार भने त्रिवि शिक्षण अस्पतालकै छातीरोग विशेषज्ञ चिकित्सकको टोलीले गरिरहेको बताइएको छ।
अस्पताल स्रोतका अनुसार नेता नेपाललाई श्वासप्रश्वासमा समस्या (घ्यार–घ्यार) देखिएको छ र चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ। स्वास्थ्य अवस्था स्थिर रहेको तर थप परीक्षण जारी रहेको स्रोतको भनाइ छ।
बिहीबार बिहान उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न नेताहरू अस्पताल पुगेका थिए।
चिकित्सकहरूले केही दिन आराम र नियमित निगरानी आवश्यक पर्ने बताएका छन्।

