काठमाडौं, १९ माघ — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ। प्रत्यक्षतर्फका २५ जिल्लाका लागि ३० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ।
आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई लक्षित गर्दै भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र मा मतपत्र छपाइ नियमित रूपमा जारी छ। यसअघि नै समानुपातिकतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र छापिसकिएको आयोगले जानकारी दिएको छ।
निर्वाचनको प्राविधिक तयारीसँगै आयोगले मतदाता सचेतनामा पनि जोड दिएको छ। मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० नमूना मतपत्र तयार भइसकेका छन्।
आयोगअन्तर्गतको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र ले हालसम्म १५८ वटा मतदाता शिक्षा सामग्री स्वीकृत गरी सार्वजनिक गरिसकेको छ। ती सामग्री आयोगका आधिकारिक फेसबुक, एक्स (ट्विटर), टिकटक र युट्युब मार्फत प्रसारण भइरहेका छन्।
आयोगको विश्वास छ— यी सामग्रीले निर्वाचन प्रक्रियाबारे सही जानकारी फैलाउन, मतदातालाई सचेत बनाउन र भ्रमपूर्ण सूचनाको प्रभाव घटाउन सहयोग पुग्नेछ।
अन्तर्राष्ट्रिय समुदायलाई पनि ब्रिफिङ
यसबीच निर्वाचनको वातावरण र तयारीबारे जानकारी दिन काठमाडौँस्थित कूटनीतिक नियोग र संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिलाई ब्रिफिङ गरिएको छ। आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता थियो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, ब्रिफिङमा निर्वाचनको समग्र तयारी, सुरक्षा अवस्था तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यवेक्षण सम्बन्धी विषयमा जानकारी गराइएको थियो।






