मर्मतपछि सानोठिमी बाल सुधारगृह अब बालिकामै केन्द्रित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

भक्तपुर, माघ २१ (बुधबार), २०८२ : मध्यपुर थिमीस्थित सानोठिमी बाल सुधारगृह अब बालिकाहरूका लागि मात्रै सञ्चालन गरिने भएको छ। सुधारगृहको क्षतिग्रस्त संरचना मर्मतपछि व्यवस्थापनलाई बालिकामै केन्द्रित गर्ने तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ।

सुधारगृहमा रहेका १८ वर्ष नाघेका ७५ जना बालबिज्याइँकर्तालाई हालै नुवाकोटस्थित केन्द्रीय कारागारको खम्पा क्याम्पमा स्थानान्तरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार, सुधारगृहमा पुनः राख्न सक्ने अवस्था नरहेपछि उनीहरूलाई त्यहाँ पठाइएको हो।

सानोठिमी सुधारगृहमा क्षमता भन्दा बढी, कुल १६९ जना बालबिज्याइँकर्ता बस्दै आएका थिए। गत माघ ८ गते राति भएको झडप, आगजनी र तोडफोडका घटनाले सुधारगृहका अधिकांश संरचनामा क्षति पुगेको थियो। त्यसपछि सुरक्षा र व्यवस्थापन दुवै चुनौतीपूर्ण बनेको बताइएको छ।

सुधारगृहमा यसअघि २४ जना बालिकासमेत रहेका थिए। कानुनी जटिलताका कारण १८ वर्ष नाघिसकेपछि पनि कतिपयलाई कारागार पठाउन नसकिँदा ३५ वर्ष उमेरसम्मकालाई समेत सुधारगृहमा राख्ने अवस्था बनेको थियो। एउटै स्थानमा फरक उमेर समूहका व्यक्तिहरू राखिँदा सुरक्षामा थप समस्या देखिएको अधिकारीहरूको भनाइ छ।

अब सुधारगृहलाई व्यवस्थित गरी बालिकाहरूका लागि सुरक्षित र अनुकूल वातावरण तयार पार्ने योजना रहेको जनाइएको छ।

Leave a Comment