निर्वाचन सुरक्षामा कडाइ: मतदान अवधिभर ड्रोन उडाउन नपाइने सामाजिक सञ्जाल निगरानीदेखि सुरक्षाकर्मीको बीमासम्म निर्णय

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, माघ २३ — आउँदो प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिले ड्रोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। निर्वाचनलाई निष्पक्ष, सुरक्षित र शान्तिपूर्ण बनाउने उद्देश्यका साथ सुरक्षा संयन्त्रलाई थप कडा बनाइएको हो।

शुक्रबार बसेको समितिको बैठकले कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ को प्रगति समीक्षा गर्दै जनशक्ति परिचालन, बन्दोबस्ती र जोखिम मूल्यांकनबारे विस्तृत छलफल गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

सामाजिक सञ्जालमा कडा निगरानी

बैठकले निर्वाचनलाई प्रभावित पार्ने मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद सामग्रीको नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक सामाजिक सञ्जाल निगरानी युनिटलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरिने पनि निर्णय गरिएको छ।

सुरक्षाकर्मीको बीमा र दुर्गम मतदानस्थलमा विशेष व्यवस्था

केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको बीमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी वैकल्पिक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।

गृह मन्त्रीको निर्देशन

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको निर्वाचनका लागि भइरहेको सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै सम्भावित जोखिमको पहिचान गरी सुरक्षा व्यवस्था अझ चुस्त र प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

यस निर्णयसँगै निर्वाचन अवधिभर सुरक्षा सतर्कता उच्च राखिने र कुनै पनि अवाञ्छित गतिविधि सह्य नहुने स्पष्ट सन्देश दिइएको छ।

Leave a Comment