इस्लामाबाद/काठमाडौं, माघ २३ — पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार प्रार्थनाको समयमा सिया समुदायको मस्जिद (इमाम्बाडा) भित्र भएको आत्मघाती विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्।
पाकिस्तानी सञ्चारमाध्यम द डन का अनुसार विस्फोट अत्यन्त शक्तिशाली भएकाले मस्जिद परिसरमा ठूलो क्षति पुगेको छ। घटनापछि प्रहरी र उद्धार टोली तत्काल घटनास्थल पुगेर घाइतेको उद्धार र उपचारमा खटिएका छन्।
सहरभर आपत्काल घोषणा
इस्लामाबादका प्रहरी प्रमुखले सुरक्षास्थिति संवेदनशील बनेको जनाउँदै सहरभर आपत्काल घोषणा गरेका छन्। अधिकारीहरूले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।
अहिलेसम्म उक्त आक्रमणको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन। सुरक्षा निकायले घटनाको विस्तृत अनुसन्धान सुरु गरेका छन्।
राष्ट्रपतिको कडा प्रतिक्रिया
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
“निर्दोष नागरिकलाई लक्षित गर्नु मानवताविरुद्धको अपराध हो,” राष्ट्रपति जरदारीले भनेका छन्।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
आतंकवादविरुद्ध एकजुट हुन आह्वान
यसैबीच पाकिस्तानका संसदीय मामिला मन्त्री डा. तारिक फजल चौधरीले घटनाको कडा निन्दा गर्दै यस्ता आक्रमणले राष्ट्रको मनोबल कमजोर नपार्ने बताएका छन्।
“आतंकवादी घटनाले जनताको आत्मबल तोड्न सक्दैन,” उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “शान्ति र कानुनी शासनका लागि हामी सबै एकजुट हुनुपर्छ।”
घटनाले पाकिस्तानमा धार्मिक स्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ अवस्थालाई नियालिरहेको छ।

