सुपर एट’ होडमा टिमहरू अगाडि, नेपाल संकटमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२ फागुन २०८२, मुम्बई। भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरण आधाभन्दा बढी सकिँदा केही टिम ‘सुपर एट’ नजिक पुगेका छन् भने नेपाल रहेको समूहको समीकरण निकै पेचिलो बनेको छ।

४० मध्ये २१ खेल सम्पन्न भइसकेको अवस्थामा कुनै पनि टोलीले औपचारिक रूपमा सुपर एटमा स्थान सुरक्षित गरिसकेको छैन। तर लगातार दुई खेल जितेका टोलीहरू भने स्पष्ट रूपमा अगाडि देखिएका छन्।

कुन समूहमा को अगाडि ?

समूह ‘ए’ मा भारत र पाकिस्तान दुवैले लगातार दुई खेल जित्दै ४–४ अंक जोडेर शीर्ष स्थानमा छन्। नेदरल्यान्ड्स र अमेरिका एक–एक जितसहित प्रतिस्पर्धामा छन् भने नामिबिया अंकविहीन छ।
समूह ‘बी’ मा सहआयोजक श्रीलंका र जिम्बाब्वे अपराजित रहँदै अगाडि छन्। अस्ट्रेलिया एक जितसहित दबाबमा छ भने आयरल्याण्ड र ओमानको सम्भावना कमजोर बनेको छ।
समूह ‘डी’ मा न्युजिल्यान्ड र दक्षिण अफ्रिका लगातार दुई जितसहित सुपर एट नजिक पुगेका छन्। अफगानिस्तान र क्यानडा भने लगातार हारपछि संकटमा छन्।

नेपाल रहेको समूह ‘सी’ को अवस्था

नेपाल रहेको समूह ‘सी’ प्रतियोगिताकै सबैभन्दा प्रतिस्पर्धात्मक देखिएको छ। यस समूहमा वेस्ट इन्डिज, इंग्ल्यान्ड, स्कटल्यान्ड, इटली र नेपाल छन्।
दुई खेलपछि वेस्ट इन्डिज ४ अंकसहित शीर्ष स्थानमा छ। स्कटल्यान्ड, इटली र इंग्ल्यान्डले एक–एक जित निकालेका छन्। नेपाल भने दुवै खेलमा हार बेहोर्दै अंकविहीन रहँदै पुछारमा छ।

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटलीसँग १० विकेटको भारी हार बेहोरेको थियो। वरियतामा धेरै माथि रहेको नेपाललाई इटलीले पराजित गरेपछि समूहको समीकरण थप रोचक बनेको छ।

नेपालको सम्भावना कस्तो ?

अब नेपालको सुपर एट यात्रा वेस्ट इन्डिजविरुद्धको आगामी खेलमा निर्भर छ। उक्त खेलमा हार व्यहोरे नेपाल समूह चरणबाटै बाहिरिनेछ।
यदि वेस्ट इन्डिजलाई पराजित गर्न सके नेपालका लागि झिनो सम्भावना कायम रहनेछ। त्यसपछि स्कटल्यान्डलाई पनि हराउनुका साथै अन्य खेलहरूको नतिजा पनि नेपालको पक्षमा आउनुपर्नेछ।

समूह ‘सी’ मा वेस्ट इन्डिज बलियो अवस्थामा देखिँदा इंग्ल्यान्ड, स्कटल्यान्ड र इटलीबीच कडा प्रतिस्पर्धा छ। लगातार दुई हारपछि नेपाल भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ।

Leave a Comment