इरान नजिक अमेरिकी सैन्य शक्ति प्रदर्शन: युद्धपोत तैनाथीबीच स्विट्जरल्यान्डमा वार्ता तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, फागुन ५ — मध्यपूर्वमा अमेरिका–इरान तनाव चर्किँदै गएको संकेतका बीच अमेरिकाले आफ्नो अत्याधुनिक विमानवाहक युद्धपोत इरान नजिकै तैनाथ गरेको पुष्टि भएको छ। यही क्रममा दुवै देशका अधिकारीहरूबीच मंगलबार मा दोस्रो चरणको वार्ता गर्ने तयारी पनि भइरहेको छ।

अमेरिकी प्रशासनले इरानको सैन्य कार्यक्रम र हालैका आन्तरिक प्रदर्शनमाथिको दमनलाई लिएर दबाब बढाइरहेका बेला यो सैन्य तैनाथी सार्वजनिक भएको हो। उपग्रह तस्वीरमार्फत युद्धपोत ओमान तट नजिक अरब सागर क्षेत्रमा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

क्यारियर स्ट्राइक समूहसहित अग्रसर

USS Abraham Lincoln ले तीन निर्देशित मिसाइल विनाशकसहित ‘क्यारियर स्ट्राइक ग्रुप’को नेतृत्व गरिरहेको छ। यसमा करिब ९० वटा लडाकु तथा सहयोगी विमान, पाँच हजारभन्दा बढी सैनिक तैनाथ छन्। अमेरिकी नौसेनाको अर्को विशाल युद्धपोत पनि केही साताभित्र मध्यपूर्व क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।

बीबीसी भेरिफाइका अनुसार हाल मध्यपूर्व आसपास १२ अमेरिकी युद्धपोत सक्रिय देखिएका छन्। तीमध्ये केही बहराइनस्थित अमेरिकी नौसैनिक अड्डा, पूर्वी भूमध्यसागर र रातो सागर क्षेत्रमा तैनाथ छन्।

हवाई गतिविधि पनि तीव्र

स्थलतर्फ पनि अमेरिकी सैन्य गतिविधि बढेको संकेत देखिएको छ। मा एफ–१५ र ईए–१८ लडाकु विमानको संख्या बढाइएको उपग्रह तस्वीरले देखाएको छ। साथै अमेरिका र युरोपबाट मध्यपूर्वतर्फ इन्धन, कार्गो र सञ्चार सहयोगी विमानहरूको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ।

वार्तामा आणविक कार्यक्रम मुख्य एजेन्डा

यसैबीच अमेरिका र इरानका अधिकारीहरूबीच मंगलबार स्विट्जरल्यान्डमा दोस्रो चरणको वार्ता हुने तयारी छ। इरानले आफ्नो आणविक कार्यक्रम र अमेरिकी आर्थिक प्रतिबन्ध हटाउने विषयलाई प्रमुख एजेन्डा बनाउने जनाएको छ भने वासिङ्टनले क्षेत्रीय सुरक्षा र मिसाइल कार्यक्रमजस्ता अन्य मुद्दा पनि उठाउने संकेत दिएको छ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा बढ्दो अमेरिकी सैन्य उपस्थिति र समानान्तर कूटनीतिक पहलले तनाव थप चर्किन सक्ने जोखिम देखिएको छ।

Leave a Comment