काठमाडौं, फागुन ५ — १६ महिनादेखि जारी राजनीतिक संक्रमणपछि बंगलादेशमा आज निर्वाचित सरकार गठन हुने भएको छ। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष प्रधानमन्त्री पदमा नियुक्त हुँदै अपराह्न शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
अन्तरिम सरकारका प्रमुख सल्लाहकार ले पद त्याग गरेसँगै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणको प्रक्रिया अघि बढेको हो। उनले सोमबार राति सम्बोधन गर्दै आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका थिए।
गत १२ फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनमा बीएनपी नेतृत्वको गठबन्धनले २१२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो भने जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट प्राप्त गरेको छ।
बीएनपीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह आज अपराह्न ४ बजेका लागि तय गरिएको छ। त्यस्तै, नव–निर्वाचित सांसदहरूको शपथग्रहण पनि आजै संसद् भवन परिसरमा आयोजना हुने कार्यक्रम छ।
विद्यार्थी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटको १६ महिनापछि बंगलादेशमा निर्वाचित सरकार पुनःस्थापित हुन लागेको हो।

