अफगानिस्तान पाकिस्तान झडपमा दुवै पक्षका ठूलो क्षति दाबी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ १५ फागुन। अफगानिस्तान र पाकिस्तानबीच सीमा क्षेत्रमा भएको सशस्त्र झडपमा दुवै पक्षले ठूलो जनधन क्षति भएको दाबी गरेका छन्।

अफगान तालिबान लडाकुहरूले बिहीबार राति अफगानिस्तानको कुनार प्रान्तबाट पाकिस्तानतर्फ हमला गरेको बताइएको छ। अफगान पक्षका अनुसार उक्त आक्रमणमा ५५ जना पाकिस्तानी सैनिक मारिएका छन्। २३ पाकिस्तानी सैनिकको शव आफ्नो नियन्त्रणमा रहेको र केही सैनिकलाई जीवितै पक्राउ गरिएको पनि अफगान अधिकारीहरूले बताएका छन्। साथै पाकिस्तानको एक सैन्य मुख्यालय र १९ वटा सुरक्षा चौकी कब्जामा लिएको अफगान पक्षको दाबी छ।

अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रतका अनुसार दर्जनौँ हतियार, एउटा ट्याङ्क तथा अन्य सैन्य उपकरण पनि कब्जा गरिएको छ।

यता पाकिस्तानी मिडियाका अनुसार पाकिस्तानले प्रतिकारस्वरूप अपरेसन गजब लिल हक नामक सैन्य कारबाही सुरु गरेको छ। पाकिस्तानी वायुसेनाले अफगानिस्तानको राजधानी काबुल र नान्गारहार प्रान्तसहित विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको दाबी गरिएको छ।

पाकिस्तानी पक्षका अनुसार प्रतिआक्रमणमा ७२ जना अफगान तालिबान लडाकु मारिएका छन् भने १२० भन्दा बढी घाइते भएका छन्। १६ वटा तालिबान चौकी ध्वस्त पारिएको र सातवटा चौकी कब्जा गरिएको पनि पाकिस्तानको दाबी छ।

दुवै देशले आआफ्नो दाबी सार्वजनिक गरे पनि घटनाको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। सीमा क्षेत्रमा तनाव बढेपछि सुरक्षा अवस्था थप संवेदनशील बनेको जनाइएको छ।

Leave a Comment