१७ फागुन २०८२, आइतबार
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहानै घर वरिपरि निगरानी राखेर उनलाई नियन्त्रणमा लिएको हो। पारिवारिक स्रोतका अनुसार करिब पौने ८ बजेतिर पक्राउ पुर्जी थमाएर प्रसाईंलाई लगिएको थियो।
प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाएको छ। पक्राउपछि प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमै राखिएको छ।
यसअघि पनि प्रसाईं ४ फागुनमा पक्राउ परेका थिए। गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले १३ फागुनमा उनलाई रिहा गर्न आदेश दिएको थियो। सोही घटनापछि पुनः उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

