ललितपुरमा निर्वाचन गस्तीमाथि ढुंगामुढा, हवाइ फायरपछि ४ जना नियन्त्रणमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १९ फागुन । ललितपुरमा निर्वाचन सुरक्षाका लागि गस्तीमा खटिएको प्रहरी टोलीमाथि मध्यराति आक्रमण भएको छ। घटना महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा शुक्रबार राति करिब पौने ११ बजे भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग लुभुबाट खटिएको टोलीमाथि केही व्यक्तिहरूले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। आत्मरक्षाका लागि प्रहरीले एक राउन्ड हवाइ फायर गरी अवस्था नियन्त्रणमा लिएको जनाएको छ।

घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई जिल्ला अदालत ललितपुरबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर गढी गाउँपालिका–२ का २९ वर्षीय विकास भन्ने बुद्ध तामाङ, सल्यान दार्मा गाउँपालिका–३ का २० वर्षीय रमेश शाही, सोही ठाउँका २० वर्षीय शंकर शाही तथा रुकुम सानोभेरी गाउँपालिका–२ का २२ वर्षीय राजु मगर रहेका छन्।

आक्रमणमा घाइते भएका एक प्रहरी कर्मचारीको उपचार ललितपुरस्थित मा भइरहेको छ।

प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूको पृष्ठभूमिबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा सुरक्षाकर्मीमाथि भएको यो घटनालाई गम्भीर रूपमा लिइएको छ।

Leave a Comment