२१ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौंको धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी छन्।
प्रधानमन्त्री कार्कीले धापासी निमावि अन्तर्गतको फैमालचुली मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेकी हुन्। मतदानपछि उनले निर्वाचन लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण अभ्यास भएकाले सबै नागरिकलाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेकी छन्।
देशभर बिहीबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। मतदाताले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअन्तर्गत प्रतिनिधि छनोटका लागि मतदान गरिरहेका छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरू पनि आ–आफ्ना मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन्।

