१९ चैत,बारा — जिल्लामा सञ्चालन हुन लागेको आर्थिक गणनालाई प्रभावकारी बनाउन सरोकारवालाबीच समन्वय बढाइएको छ। बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित गोष्ठीमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले गणनालाई सफल बनाउन साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
गोष्ठीमा बोल्दै जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साहले आर्थिक गणना मुलुकको यथार्थ आर्थिक अवस्थाको आधार तयार गर्ने महत्वपूर्ण माध्यम भएकाले यसको सफल कार्यान्वयनमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले मिडिया, उद्योगी–व्यवसायी तथा स्थानीय तहका नेतृत्वले जनस्तरमा सचेतना फैलाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गणना कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गरिने बताउँदै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिए। उनले घरदैलोमा खटिने गणकलाई सही विवरण उपलब्ध गराउन नागरिकलाई आग्रह गर्दै तथ्यांक संकलनमा पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने उल्लेख गरे।
जिल्ला आर्थिक गणना कार्यालय बाराका प्रमुख राजेश दासले गणनाको उद्देश्य, कार्यविधि र अपेक्षित उपलब्धिबारे जानकारी गराउँदै नीति निर्माण र विकास योजनाका लागि भरपर्दो तथ्यांक अत्यावश्यक हुने बताए। उनले अभियान सफल बनाउन सबै तहबाट सहयोग अपरिहार्य रहेको स्पष्ट पारे।
निर्धारित कार्यतालिकाअनुसार गणना प्रक्रिया चरणबद्ध रूपमा सञ्चालन हुनेछ। गणक तथा सुपरिवेक्षक छनोट, तालिम, स्थलगत तथ्याङ्क संकलनदेखि अन्तिम प्रतिवेदन तयारीसम्मका सबै चरण समयमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

