२३ फागुन, बेनी। म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले २२ हजार ८५० मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन्। मतगणना सम्पन्न भइसकेको भए पनि औपचारिक घोषणा हुन भने बाँकी रहेको जनाइएको छ।
आफ्नो जन्मथलो म्याग्दीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका पुनले शिक्षा क्षेत्र सुधारलाई मुख्य एजेन्डा बनाएका थिए। उनले नीतिगत सुधारमार्फत शिक्षा प्रणालीलाई सुदृढ बनाउने तथा विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत पाए।
म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

