काठमाडौं-१३ असोज ।
राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा आगामी प्रतिनिधि सभा चुनाव सम्पन्न गरेर संसद् र सरकारको निरन्तरताका लागि सबैलाई सहयोग र सहकार्य गर्न अपिल गरेका छन् ।
बडादशैं २०८२ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संयमित भई लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि सबै पक्षलाई आग्रह गरेका हुन् । उनले भने, “तोकिएको निर्वाचन समयमै सम्पन्नक गरी जनप्रतिनिधिमुलक संसद र सरकारको निरन्तरताका लागि सबैले सहयोग पुर्याउनुपर्छ । यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी राष्ट्रको समग्र कल्याणमा दुर्गा भवानीले शक्ति प्रदान गरून् ।”
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनले गरेको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । नयाँ सरकार गठन सम्भव नभएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । त्यसको सिफारिसमा भदौ २७ गते प्रतिनिधि सभा विघटन गर्दै राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते चुनाव गर्ने घोषणा गरेका हुन् ।
यस सन्दर्भमा राष्ट्रपतिले तोकिएको चुनाव समयमै सम्पन्न गरेर लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिन जरुरी रहेको उल्लेख गरेका छन् । साथै उनले उत्पन्न असाधारण परिस्थिति, जनधनको क्षति तथा विभिन्न क्षेत्रमा भएको भौतिक क्षतिको उचित व्यवस्थापनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
बडादशैंको प्रसंगमा राष्ट्रपति पौडेलले राष्ट्र र राष्ट्रियताप्रतिको सम्मान, आपसी सद्भाव र एकता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन् । उनले “दसैँले सबैमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा जगाओस्” भन्ने शुभकामना पनि दिएका छन् ।



Leave a Reply