२४ फागुन २०८२,सर्लाही-सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
अन्तिम मत परिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत प्राप्त गरे। यससँगै सिंहले थापालाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका छन्।
यो जितसँगै अमरेशकुमार सिंहले सर्लाही–४ बाट लगातार तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै ह्याट्रिक पूरा गरेका छन्। उता गगनकुमार थापाले भने आफ्नो राजनीतिक जीवनमा पहिलो पटक निर्वाचनमा हार बेहोरेका हुन्।
यसअघि २०६४ सालमा समानुपातिकतर्फबाट संसद् प्रवेश गरेका थापाले काठमाडौं–४ बाट लगातार तीन पटक निर्वाचन जितेका थिए। यसपटक भने मधेश झरेर सर्लाही–४ बाट चुनाव लडेका उनी पराजित भएका छन्।

