मध्यपूर्वको तनावबारे ट्रम्प र पुटिनबीच टेलिफोन संवाद

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २६ फागुन २०८२ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मध्यपूर्वको बढ्दो तनाव, इरानको अवस्था तथा युक्रेन युद्धबारे टेलिफोन संवाद भएको छ।

ट्रम्पका अनुसार हालै अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त आक्रमणपछि त्यहाँको सैन्य तथा राजनीतिक अवस्था निकै कमजोर बनेको छ। उनले इरानमा अमेरिकी सेनाको अभियान छिट्टै अन्त्य हुन सक्ने संकेत दिए पनि यो हप्ता नै समाप्त हुने सम्भावना भने नरहेको बताएका छन्।

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ। यही विषयमा ट्रम्पले पुटिनसँग विस्तृत कुराकानी गरेको बताएका छन्।

ट्रम्पले पुटिनलाई यदि सम्भव भए युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आग्रह गरेका थिए। उनका अनुसार युक्रेन युद्धको अन्त्य अहिले पनि टाढाको विषयजस्तै देखिएको छ।

यसैबीच अमेरिकी–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरिएको छ।

पुटिनले मोज्तबा खामेनीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै रूसले इरानसँगको सम्बन्धलाई अझ मजबुत बनाइराख्ने बताएका छन्।

तर ट्रम्पले भने मोज्तबा खामेनीलाई धेरै मानिसहरूले राम्रोसँग नचिनेको र उनको नेतृत्वबारे आफू सन्तुष्ट नभएको प्रतिक्रिया दिएका छन्।

ट्रम्पका अनुसार आफू र पुटिनबीचको वार्ता सकारात्मक भए पनि पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच गहिरो दुश्मनी भएकाले युद्ध अन्त्यका लागि सहमति हुन अझै कठिन देखिएको छ।

Leave a Comment