धादिङको बैरेनीमा भीषण सडक दुर्घटना, ३४ घाइते काठमाडौं पठाइयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

धादिङको गल्छी गाउँपालिका–६ बैरेनी क्षेत्रमा गएराति तीन सवारी साधन एकआपसमा ठोक्किँदा ३७ जना घाइते भएका छन्। दुर्घटनापछि गम्भीर घाइतेमध्ये ३४ जनालाई थप उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राति करिब साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ट्रकलाई बागलुङतर्फ गइरहेको यात्रुबाहक बसले पछाडिबाट ठक्कर दिएको थियो। त्यसलगत्तै वीरगञ्जतर्फ जाँदै गरेको अर्को बसले अघिल्लो बसलाई पछाडिबाट ठक्कर दिएपछि ठूलो दुर्घटना भएको हो।
तीनवटै सवारी साधनमा रहेका ६८ यात्रुमध्ये ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रारम्भिक उपचारपछि तीन जना घर फर्किएका छन् भने बाँकी घाइतेको काठमाडौंस्थित अस्पतालहरूमा उपचार भइरहेको छ।
घाइतेमध्ये १९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर र ९ जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेका थप ६ जनालाई पनि पछि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै बस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

Leave a Comment