३० फागुन २०८२, काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अहिले सम्झौता गर्न इच्छुक भएको दाबी गरेका छन्। तर अब आफू त्यस्तो सम्झौता स्वीकार गर्न तयार नरहेको उनले बताएका छन्।
आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इरान युद्धमा कमजोर बनेपछि सम्झौता गर्न चाहेको टिप्पणी गरेका हुन्। उनले लेखेका छन्, “इरान पूर्ण रूपमा पराजित भएको छ र अहिले सम्झौता गर्न चाहन्छ, तर म अब त्यस्तो सम्झौता स्वीकार गर्दिनँ।”
ट्रम्पले अमेरिकी सञ्चारमाध्यमप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन्। उनका अनुसार ‘फेक न्युज मिडिया’ले अमेरिकी सेनाले इरानविरुद्ध गरिरहेको कारबाहीलाई सही रूपमा प्रस्तुत नगरेको आरोप लगाएका छन्।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई आक्रमण गर्दा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या भएको दाबी गरिएपछि क्षेत्रीय तनाव बढेको छ। त्यसयता इरानले इजरायल तथा खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेको बताइएको छ।
यस घटनापछि मध्यपूर्व क्षेत्रमा द्वन्द्व अझै चर्किएको छ। यसैबीच इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा पनि क्षेप्यास्त्र प्रहार भएको खबर सार्वजनिक भएको छ।

