मन्त्री पद त्यागेर चुनावी मैदानमा बब्लु गुप्ता, सिराहा–१ बाट उम्मेदवारी दिने तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सोमबार ५ माघ, २०८२ | काठमाडौँ
युवा तथा खेलकुदमन्त्री पदबाट राजीनामा दिएका बब्लु गुप्ता आगामी प्रतिनिधिसभा निर्वाचनमा सिराहा क्षेत्र नं. १ बाट उम्मेदवारी दिने भएका छन्। निर्वाचनमा पूर्ण रूपमा केन्द्रित हुन मन्त्री पद त्यागेको उनले बताएका छन्।

गुप्ताका अनुसार उनले आइतबार राति नै प्रधानमन्त्रीसँग भेट गरी राजीनामाको जानकारी गराइसकेका छन्। ‘राजीनामासम्बन्धी प्रक्रियागत विषय आज टुंगिन्छ,’ उनले भने, ‘फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्ष चुनाव लड्ने निर्णय गरेको हुँ।’

उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्ने निश्चित भएको छ। सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा गुप्ता युवा पुस्ता अर्थात् ‘जेन–जी’ को प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा सहभागी थिए। मन्त्रीका रूपमा रहँदा उनले युवा तथा खेलकुद क्षेत्रमा केही नयाँ पहल सुरु गरे पनि आफ्नो राजनीतिक यात्रालाई थप मजबुत बनाउन प्रत्यक्ष निर्वाचन रोजेको बताए।

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता मिति माघ ६ गते तोकिएको छ। गुप्तानिकट स्रोतका अनुसार सिराहा–१ मा उनको उम्मेदवारीलाई लक्षित गरी लामो समयदेखि तयारी भइरहेको छ। गुप्ता स्वयं पनि उम्मेदवारी दर्ताका लागि सिराहा क्षेत्र नं. १ जाने तयारीमा छन्।

मन्त्री पदबाट राजीनामा दिएर प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा होमिनु गुप्ताको राजनीतिक यात्राको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

Leave a Comment