४ चैत २०८२, काठमाडौं-एन्फा महिला लिग सुरु: एपीएफलाई उपाधि जोगाउने चुनौती, संकटा बलियो प्रतिस्पर्ध
सहिद स्मारक एन्फा महिला लिग बुधबारबाट सुरु हुँदै गर्दा यसपटक प्रतिस्पर्धा झन् कडा हुने संकेत देखिएको छ। विभागीय टोलीहरूको वर्चस्व तोड्ने लक्ष्यसहित अन्य क्लब पनि बलियो तयारीमा मैदान उत्रँदै छन्।
लिगमा परम्परागत रूपमा एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी मुख्य प्रतिस्पर्धी मानिँदै आएका छन्। तर यसपटक विदेशी खेलाडीको सहभागिताले अन्य क्लब पनि मजबुत बनेका छन्।
सबैभन्दा सफल टोली एपीएफलाई भने यसपटक उपाधि रक्षा गर्न सहज देखिएको छैन। टोलीका प्रमुख खेलाडीहरू—गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा, मिडफिल्डर प्रिती राई विदेशमा छन् भने सावित्रा भण्डारी ‘साम्बा’ र सविता राना मगर चोटका कारण बाहिर छन्।
एपीएफका मुख्य प्रशिक्षक जीवेश कुमार पाण्डेले भने चुनौतीका बाबजुद उपाधि नै लक्ष्य रहेको बताए। कप्तान अनिता बस्नेतका अनुसार विदेशी खेलाडी भित्रिएसँगै प्रतिस्पर्धा झन् कडा बनेको छ।
नेपाल पुलिस क्लबले पनि उपाधि लक्ष्य राखेको जनाएको छ। सहायक प्रशिक्षक रविन श्रेष्ठले विभागीय टोली भएकाले नियमित प्रशिक्षणकै आधारमा आफूहरू बलियो रहेको बताए। तर पुलिसले यसपटक विदेशी खेलाडी भने अनुबन्ध नगर्ने जनाएको छ।
त्रिभुवन आर्मी क्लबको गोलकिपिङ लाइन केही कमजोर देखिएको छ। पहिलो रोजाइकी गोलरक्षक अञ्जना रामामगर एपीएफतर्फ गएकी छन् भने वैकल्पिक खेलाडी लिला जोशी चर्च ब्वाइज युनाइटेडमा आबद्ध भएकी छन्। प्रशिक्षक राजु तामाङले भने उपलब्ध खेलाडीबाटै सन्तुलन मिलाउने बताए।
यसपटक संकटा एफसी बलियो टोलीका रूपमा उभिएको छ। चार विदेशी खेलाडी अनुबन्ध गरेको संकटा विभागीय टोलीलाई कडा चुनौती दिने तयारीमा छ। प्रशिक्षक रविन्द्र शिखाकारले टोलीलाई शीर्ष स्थानमा पुर्याउने लक्ष्य लिएको बताए।
चर्च ब्वाइज युनाइटेडले महिला लिगमा पहिलोपटक सहभागिता जनाउँदैछ भने बागमती युथ क्लबले पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
यद्यपि लिग सुरु हुन लाग्दासमेत प्रतियोगिताको ढाँचा, पुरस्कार राशि र अन्य विवरणबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्ट जानकारी दिएको छैन। एन्फा कम्प्लेक्सबाहिर क्लब पदाधिकारीहरूले विरोधस्वरूप आन्दोलन गरिरहेका कारण व्यवस्थापन पक्ष थप विवादमा परेको छ।
पूर्ण तयारीबिना सुरु हुन लागेको लिग भए पनि सहभागी टोलीहरू भने प्रतिस्पर्धाका लागि उत्साहित देखिएका छन्।

