फेटा गाउँपालिकामा शैक्षिक अवस्था खस्किँदै, स्थानीय चिन्तित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

६ चैत,शिक्षालाई स्थानीय तहमा हस्तान्तरण गरिएसँगै शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरिए पनि बाराको फेटा गाउँपालिकामा भने अवस्था उल्टै खस्किँदै गएको भन्दै स्थानीयहरू चिन्तित भएका छन्।

बिश्रामपुर गाउँपालिकामा कार्यरत रहँदा एसईई नतिजा झन्डै ८ प्रतिशतमा झारेको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा विगत ६ महिनादेखि फेटा गाउँपालिकामा कार्यरत छन्। उनीसँगै गाउँपालिका अध्यक्ष रुस्तम अंसारीमाथि पनि शिक्षा क्षेत्रमा सुधार गर्न नसकेको, बरु बेथिति बढाएको आरोप स्थानीयले लगाएका छन्।

स्थानीयका अनुसार विद्यालयका प्रधानाध्यापकहरूको सरुवा राजनीतिक दबाबमा गरिएको, दरबन्दीअनुसार शिक्षक समायोजन नगरिएको, बाल विकास शिक्षक नियुक्तिमा आर्थिक चलखेल भएको तथा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियासमेत ओझेलमा पारिएको छ।

यस्तै, लामो समयदेखि शिक्षा शाखामा कार्यरत अली महमद अंसारीलाई हटाएर अन्सारुल हक अंसारीलाई शिक्षा शाखाको जिम्मेवारी दिइएको विषय पनि विवादमा परेको छ।

शिक्षा क्षेत्रमा देखिएका यस्ता समस्याका कारण गुणस्तर निरन्तर खस्किँदै गएको अभिभावकहरूको गुनासो छ। स्थानीय तहले शिक्षा सुधारका लागि ठूलो बजेट विनियोजन गरे पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनीहरूको भनाइ छ।

आर्थिक वर्ष २०८१ को एसईई नतिजाले फेटा गाउँपालिकाको शैक्षिक अवस्था झन् उजागर गरेको थियो। तीन वटा सामुदायिक माध्यमिक विद्यालयबाट साधारणतर्फ २६१ जना विद्यार्थी सहभागी भएकोमा जम्मा ४९ जना मात्र उत्तीर्ण भएका थिए।

प्राविधिकतर्फ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट ४६ जना सहभागीमध्ये ११ जना मात्र उत्तीर्ण भएका थिए।

त्यसैगरी, बिश्रामपुर गाउँपालिकामा ओझाको कार्यकालमा तीन विद्यालयको नतिजा झनै कमजोर देखिएको थियो। इटियाहीस्थित विद्यालयमा ५६ मध्ये १ जना, बलिरामपुरमा २५ मध्ये ६ जना र मुसहर्वामा ६१ मध्ये ५ जना मात्र उत्तीर्ण भएका थिए। कुल १४२ विद्यार्थीमध्ये १२ जना मात्र उत्तीर्ण हुनु शैक्षिक अवस्थाको गम्भीर संकेत भएको स्थानीयहरूको भनाइ छ।

स्थानीय शिक्षाप्रेमीहरूका अनुसार करोडौं बजेट खर्च हुँदा पनि शिक्षाको गुणस्तरमा सुधार नआउनु चिन्ताजनक विषय हो। उनीहरूले राजनीतिक हस्तक्षेपकै कारण शैक्षिक क्षेत्र कमजोर बन्दै गएको आरोप लगाएका छन्।

फेटा गाउँपालिकामा हाल श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फेटा, श्री अंचित माध्यमिक विद्यालय बतरा र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गम्हरिया गरी तीन वटा सामुदायिक माध्यमिक विद्यालय सञ्चालनमा छन्।

यस विषयमा प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षलाई कार्यालयमा खोज्दा दिउँसो २:३० बजे कार्यालय बन्द भेटिएको थियो। मोबाइलमा सम्पर्क गर्दा पनि प्रतिक्रिया प्राप्त हुन सकेन।

यद्यपि, शिक्षा शाखा प्रमुख अन्सारुल मिया अंसारीले विषयगत शिक्षकको व्यवस्था गरिएको र विद्यार्थीका लागि कोचिङ कक्षा सञ्चालन गरिएको दाबी गरेका छन्।

 

Leave a Comment