कलैया (बारा), ७ चैत — मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्र आज बाराको कलैयासहित देशभर श्रद्धा, उत्साह र धार्मिक विधिअनुसार मनाइँदैछ।
एक महिनासम्म रोजा (व्रत) बसेपछि बिहानै मस्जिद तथा इदगाहमा विशेष नमाज अदा गरी मुस्लिम समुदायले एकआपसमा शुभकामना आदानप्रदान गर्दै पर्व मनाउने गरेका छन्।
कलैयामा विशेष नमाज र उल्लास
बाराको कलैया–११ स्थित देबिगन्ज मस्जिद, जामे मस्जिद घण्टाघर, कश्मीरी मस्जिद, बरेवा, स्थानमा बिहानैदेखि विशेष नमाज अदा गरिएको छ।
नमाजपछि ठूलाबडासँग आशीर्वाद लिने र साना व्यक्तिलाई माया तथा शुभकामना दिने परम्परा सुरु भएको छ।
घरघरमा सेवई, खजुर लगायत मिठा परिकार बनाएर आफन्त तथा पाहुनालाई सत्कार गर्ने चलन रहेको छ।
दान र सहयोगको पर्व
ईद उल फित्रको मुख्य विशेषता दान र सहयोग हो।
मुस्लिम धर्मअनुसार एक वर्षको बचतको करिब साढे दुई प्रतिशत रकम वा जिन्सी दान गर्नुपर्ने व्यवस्था छ, जसलाई ‘जकात’ भनिन्छ।
त्यस्तै, ‘सदकातुल फित्र’ अन्तर्गत प्रत्येक व्यक्तिले गहुँ वा सो बराबरको नगद दान गरी गरीब तथा असहायलाई सहयोग गर्ने परम्परा पनि रहेको छ।
रोजा सम्पन्नपछि उत्सव
अरबी पात्रो (हिजरी) अनुसार रमजान महिनाभर गरिएको रोजा सम्पन्न भएपछि चन्द्रमा देखिएसँगै ईद मनाउने गरिन्छ।
यो पर्वले आत्मशुद्धि, संयम र मानव सेवाको सन्देश दिने विश्वास गरिएको छ।

