राष्ट्रिय सभा चुनावमा कांग्रेस–एमाले मिल्दा नेकपा बाहिरियो, महागठबन्धनको प्रयास असफल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २३ पुस
राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख दलहरूबीच बन्ने भनिएको महागठबन्धन तत्कालका लागि भत्किएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले आपसी सहमतिमा उम्मेदवार टुंग्याएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनबाट अलग भएको हो।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र एमालेले १८ सिटमध्ये अधिकांशमा आपसमा भागबण्डा गरी उम्मेदवार चयन गरिसकेका छन्। सहमतिअनुसार कांग्रेसले ९ र एमालेले ८ उम्मेदवार उठाउने निर्णय गरेका छन्। मधेश प्रदेशमा भने जनता समाजवादी पार्टी नेपाललाई एक सिट दिने सहमति भएको छ।

दुई ठूला प्रतिस्पर्धी दलले साझा रणनीति अपनाएपछि अर्को प्रमुख दल नेकपा भने गठबन्धनबाट बाहिरिएको छ। नेकपाले सबै प्रदेशमा एकल रूपमा उम्मेदवारी दिने तयारी गरेको जनाएको छ।

नेकपाका नेता प्रकाश ज्वालाले अनलाइनखबरसँग भने, “अब कांग्रेस र एमालेसँग चुनावी तालमेल हुने अवस्था रहेन। हाम्रो पार्टीले आफ्नै उम्मेदवार उठाउँछ।”

राष्ट्रिय सभाका १९ रिक्त सिटमध्ये १८ सिटका लागि निर्वाचन हुँदैछ। बाँकी एक सिटमा सरकारको सिफारिसमा मनोनयन हुनेछ। उम्मेदवारी दर्ता प्रक्रिया बुधबार बिहान १० बजेपछि सुरु भएको छ।

मतभारमा कांग्रेस–एमालेको स्पष्ट अग्रता

प्रदेशगत मतभार हेर्दा कांग्रेस र एमालेको गठबन्धन अधिकांश प्रदेशमा बलियो देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम—सबै प्रदेशमा यी दुई दलको संयुक्त मतभार दुई तिहाइ नजिक वा बहुमतभन्दा माथि छ।

यही कारण, अन्तर्घात नभएमा कांग्रेस–एमाले गठबन्धनले अधिकांश सिट जित्ने सम्भावना बलियो देखिन्छ। मधेश प्रदेशमा जसपा नेपाललाई समेत समेटिएकोले गठबन्धनको गणित थप सहज बनेको विश्लेषण गरिएको छ।

कसरी हुन्छ मतदान?

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख–उपप्रमुख मतदाता हुन्छन्। सातै प्रदेशका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १ हजार ५०६ जना मतदाताले मतदान गर्नेछन्।

यी मतदाताले माघ ११ गते राष्ट्रिय सभा सदस्यका १८ पदका लागि मतदान गर्नेछन्।

Leave a Comment