१४ चैत, काठमाडौं । जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीले सरकारसँग लिखित आदेश माग गरेको छ ।
नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
लगत्तै गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका उच्च पदाधिकारीहरूसँग निरन्तर छलफल गरेका थिए । सुरक्षा स्रोतका अनुसार उनले मध्यरात अबेरसम्म सुरक्षा निकायका प्रमुख र सरकारी कर्मचारीसँग छलफल गरेका छन् ।
उनी प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्रका एआईजी गणेश ठाडा मगर र उपत्यका प्रहरीका एआईजी ईश्वर कार्कीसहितसँग छलफलमा थिए ।
त्यस्तै छलफलमा कानुन सचिव पाराश्वर ढुंगाना पनि सहभागी भएका थिए ।
स्रोतका अनुसार प्रहरीले लिखित आदेशबिना जरुरी पक्राउ पुर्जी जारी गर्न नसकिने बताएको थियो । त्यसपछि सचिव ढुंगाना प्रहरी हेडक्वार्टरबाट निस्केर मन्त्रालयतर्फ गएका छन् ।
गृहमन्त्री गुरुङले यसअघि पनि नेपाल प्रहरी र सशस्त्रका आईजीपीसँग छलफल गरेका थिए ।
यसैबीच सरकारले जेनजी आन्दोलनको दमनबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । उक्त निर्णयपछि प्रहरी र सशस्त्रका सबै युनिटलाई सतर्क रहन निर्देशन दिइएको छ ।

