१४ चैत, काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो गिरफ्तारीलाई प्रतिशोधपूर्ण भन्दै कानुनी लडाइँ लड्ने बताएका छन्।
भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई काठमाडौं प्रहरी परिसर, भद्रकाली ल्याइएको छ। पक्राउअघि उनले आफ्ना वकिलहरूसँग परामर्श गर्दै उक्त कदमलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधको परिणाम भएको बताएका थिए। “यो पक्राउ प्रतिशोधपूर्ण छ, म यसविरुद्ध कानुनी लडाइँ लड्छु,” उनले भनेका छन्। वरिष्ठ अधिवक्ताहरूले पनि उनको पक्राउप्रति आपत्ति जनाएका छन्।
उता, भक्तपुरकै कटुन्जेस्थित निवासबाट पक्राउ परेका रमेश लेखकले पनि आफ्नो गिरफ्तारीलाई प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको बताएका छन्। काठमाडौं प्रहरी परिसरमा उनले भने, “मलाई पूर्ण रूपमा प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको हो। मन्त्रिपरिषद्को निर्णयबाट पक्राउ गर्ने अभ्यासले कानुनको मजाक उडाएको छ।”
लेखकले पनि आफ्नो पक्राउविरुद्ध राजनीतिक तथा कानुनी दुवै मोर्चाबाट लड्ने बताएका छन्।
दुवै नेतामाथि जेनजी आन्दोलनका क्रममा भएको घटनासँग सम्बन्धित ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।

