सोमबार, १६ चैत-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल कब्जा गर्ने इच्छा व्यक्त गरेका छन्।
फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले इरानको अधिकांश तेल निर्यात हुने खार्ग टापु नियन्त्रणमा लिन सकिने संकेत दिएका हुन्।
ट्रम्पले भने, “इमानदारीपूर्वक भन्नुपर्दा मेरो मनपर्ने काम इरानको तेल लिनु हो। तर अमेरिकामा केही मानिसहरू यसमा विरोध गर्छन्, जुन गलत हो।”
उनले आवश्यक परे खार्ग टापु कब्जा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। “हामीसँग धेरै विकल्प छन्, केही समय त्यहाँ बस्नुपर्ने पनि हुन सक्छ,” उनले भने।
ट्रम्पले इरानको सुरक्षा कमजोर रहेको दाबी गर्दै खार्ग टापु सजिलै नियन्त्रणमा लिन सकिने जिकिर पनि गरे।
मध्यपूर्व क्षेत्रमा थप ३,५०० अमेरिकी सेना पुगेका बेला ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्।
यसैबीच उनले पाकिस्तानमार्फत अमेरिका र इरान बीच भइरहेको अप्रत्यक्ष वार्तामा प्रगति भइरहेको जानकारी दिएका छन्। तर युद्धविराम कहिले हुन्छ भन्नेबारे उनले स्पष्ट समय भने दिएका छैनन्।
उनका अनुसार छिट्टै सम्झौता हुन सक्ने सम्भावना छ।
पछिल्लो एक महिनादेखि जारी इरान युद्धका कारण विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ। एक महिनामा तेलको मूल्य ५० प्रतिशतभन्दा बढी वृद्धि भएको छ।
सोमबार बिहान ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११६ अमेरिकी डलर पुगेको छ।

