१६ चैत,काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने सम्बन्धी सूचना आफ्नो वेबसाइटबाट हटाएको छ।
मन्त्रालयले आइतबार विभिन्न तहका इन्ट्रान्स परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालन गर्न नपाउने निर्णयसहित विज्ञप्ति सार्वजनिक गरेको थियो। तर उक्त सूचना र शिक्षामन्त्री सस्मित पोखरेलले दिएको धारणा फरक देखिएपछि विवाद सुरु भएको थियो।
मन्त्रालयको विज्ञप्तिमा सबै प्रकारका इन्ट्रान्स कक्षा बन्द गर्ने उल्लेख थियो भने मन्त्री पोखरेलले कक्षा १२ सम्मका कक्षामा मात्र रोक लगाउने निर्णय भएको बताएका थिए। यसले सरकारको निर्णयमै विरोधाभास देखिएको भन्दै आलोचना बढेको थियो।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार २०८३ वैशाख १ गतेदेखि यस्ता कक्षा पूर्ण रूपमा बन्द गर्ने उल्लेख गरेको थियो। तर निर्णय सार्वजनिक भएको २४ घण्टा नपुग्दै सूचना वेबसाइटबाट हटाइएको हो।
यस विषयमा मन्त्रालयसँग सम्पर्क गर्दा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

