काठमाडौं, साउन २२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध धेरै लामो समय नटिक्ने दाबी गर्दै यो ‘निकै चाँडै’ अन्त्य हुने बताएका छन्।
ऊर्जाको मूल्यवृद्धिका विषयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ट्रम्पले युद्ध अन्त्यतर्फ उन्मुख रहेको संकेत गरेका हुन्।
यसैबीच, विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा अमेरिका, इरान र ओमान अस्थायी सहमतिनजिक पुगेको जनाइएको छ। उक्त सहमतिले मध्यपूर्वमा बढ्दो तनाव कम गर्नुका साथै अन्तर्राष्ट्रिय ऊर्जा बजारलाई पनि केही राहत पुग्ने अपेक्षा गरिएको छ।
यता, अमेरिकाको मध्यस्थतामा इटालीको रोममा जारी युद्धविराम वार्तामा भने अझै ठोस सहमति हुन सकेको छैन। वार्ता निष्कर्षविहीन भइरहेका बेला इजरायली सेनाले लगातार दोस्रो दिन पनि दक्षिण लेबनानमा हवाई आक्रमणलाई तीव्र बनाएको छ।
मजदेल जुन क्षेत्रनजिक भएको विस्फोटमा दुई इजरायली सैनिकको मृत्यु भएपछि इजरायलले मन्सूरी शहरलाई लक्षित गर्दै सैन्य कारबाही थप तीव्र बनाएको जनाएको छ। आक्रमणका कारण दर्जनौँ घरमा क्षति पुगेको छ भने स्थानीय बासिन्दा पुनः विस्थापित हुन बाध्य भएका छन्।
इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घनको जवाफस्वरूप सैन्य कारबाही गरिएको दाबी गरेको छ। यद्यपि, दुई सैनिकको मृत्यु भएको विस्फोटको जिम्मेवारी हिज्बुल्लाहले हालसम्म स्वीकार गरेको छैन।
रोममा जारी कूटनीतिक प्रयास पनि अझै निष्कर्षमा पुग्न सकेको छैन। दक्षिण लेबनानबाट आफ्ना सेना फिर्ता बोलाउनुअघि हिज्बुल्लाहको पूर्ण निशस्त्रीकरण हुनुपर्ने अडान इजरायलले कायम राखेकाले युद्धविराम वार्ता अनिर्णित बनेको छ।
इरान युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको दाबी, होर्मुज खुलाउने सहमतिनजिक अमेरिका–इरान–ओमान
Leave a Comment
Leave a Comment

