वीरगञ्ज, साउन २१ — पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकमा ग्यास ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बुधबार राति करिब ८ बजे पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ना.२ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको आरजे.१४ जीई ८७१० नम्बरको भारतीय ग्यास ट्यांकरले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनापछि ट्यांकर चालक घटनास्थलबाट फरार भएका थिए।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबै ९ जनाको उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको बताइएको छ।
घटनापछि फरार भएका ट्यांकर चालकलाई प्रहरीले खोजी गरी पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्ला, साहेबगञ्ज निवासी अन्दाजी ४८ वर्षीय धनेश्वर राय हुन्।
स्वास्थ्य परीक्षणका क्रममा चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
पर्सामा मादक पदार्थ सेवन गरेका भारतीय चालकको ग्यास ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते
Leave a Comment
Leave a Comment

