लखन्देहीको बाँध फुट्दा सर्लाहीका १५ सय बिघा धानबाली डुबानमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

सर्लाही, साउन २२ — लखन्देही खोलामा आएको बाढीले बाँध भत्काएपछि सर्लाहीका मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १५ सय बिघा धानखेत डुबानमा परेका छन्। भर्खरै रोपिएको धानबाली पानीमुनि परेपछि किसानहरू ठूलो चिन्तामा परेका छन्।
सोमबार रातिको बाढीले कौडेना गाउँपालिका–५ छपकैयास्थित बाँध भत्काएपछि बाढी गाउँबस्ती र खेतमा पसेको हो। डुबानका कारण कौडेना–५ छपकैयामा करिब ८ सय बिघा, मलङ्गवा–६ खुटौनामा ५ सय बिघा र मलङ्गवा–५ भाडसरमा करिब ३ सय बिघा धानखेत प्रभावित भएका छन्।
खेतबारीसँगै केही घर र गोठसमेत बाढीको असरमा परेका छन्। लगातार चार दिनदेखि डुबान कायम रहँदा स्थानीयको दैनिक जीवन कष्टकर बनेको छ भने आवतजावतसमेत प्रभावित भएको छ। स्थानीयका अनुसार मलङ्गवा सदरमुकाम जोड्ने सडकमाथिबाट नै पानी बगेकाले भारतीय सीमावर्ती बजारसम्म पुग्नसमेत कठिनाइ भइरहेको छ।
बाढीले कटान गरेको छपकैया क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त टोलीले अस्थायी तटबन्ध निर्माणको काम सुरु गरेको छ। बोरामा बालुवा भरेर भत्किएको बाँध थुन्ने प्रयास भइरहेको छ।
स्थानीय किसान मोहम्मद इलयास खानले आठ कठ्ठामा लगाएको धानबाली पूर्ण रूपमा डुबानमा परेको भन्दै यस वर्ष उत्पादन नहुने चिन्ता व्यक्त गरे। अर्का किसान रामकिशुन यादवले वर्षेनि दोहोरिने डुबान समस्याको स्थायी समाधानका लागि बलियो तटबन्ध निर्माण गर्न सरकारसँग माग गरे। उनले गत वर्ष पनि बाँध फुट्दा धानबाली नष्ट भएको तर कुनै क्षतिपूर्ति नपाएको गुनासो गरे।
कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले लखन्देही खोलाको कटान र डुबान पुरानै समस्या भएको उल्लेख गर्दै स्थानीय तहले आफ्नो क्षमताअनुसार नियन्त्रणका काम गरिरहेको बताए। उनका अनुसार दीर्घकालीन समाधानका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
यस्तै, मलङ्गवा नगरपालिका–५ का वडाध्यक्ष मोहम्मद जुल्फकार अलीले आफ्नो वडामा मात्रै तीन सय बिघाभन्दा बढी खेत डुबानमा परेको जानकारी दिए। वडा नं. ६ का वडाध्यक्ष राम कैलाश यादवका अनुसार पाँच सय बिघाभन्दा बढी धानखेत प्रभावित भएका छन्।
स्थानीयवासीले प्रत्येक वर्ष दोहोरिने बाढी र डुबानको समस्याको स्थायी समाधान गर्न प्रभावकारी तटबन्ध निर्माण तथा पानी निकासको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

Leave a Comment