काठमाडौं, ९ फागुन २०८२ — रौतहटमा दुई समुदायबीचको विवादले उत्पन्न तनावपूर्ण अवस्थाबारे संघीय सरकारले उच्च सतर्कता अपनाएको छ। शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सबै पक्षलाई संयमता र सद्भाव कायम गर्न आग्रह गर्दै स्थानीय सुरक्षा संयन्त्रलाई कडा समन्वयका साथ स्थिति नियन्त्रणमा लिन निर्देशन दिएको छ।
गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार सुरक्षा निकायका चारवटै प्रमुख सहभागी बैठकले जिल्ला सुरक्षा समितिलाई सबै निकायसँग समन्वय गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन स्पष्ट निर्देशन दिएको हो। साथै, घटनामा संलग्न दोषी व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई भनिएको उनले जानकारी दिए।
रौतहटमा बिहीबार रातिदेखि सुरु भएको दुई समूहबीचको विवाद शनिबार पुनः चर्किएपछि स्थिति थप तनावग्रस्त बनेको छ। अवस्था नियन्त्रणबाहिर जाने संकेत देखिएपछि स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेदेखि जिल्लाका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश लागू गरेको छ।
सरकारले समुदायबीच सद्भाव कायम राख्न तथा अफवाह नफैलाउन सबै पक्षलाई आग्रह गर्दै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएको छ।

