१६ चैत, काठमाडौं। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई थप सशक्त र स्वतन्त्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै उनले अबदेखि प्रहरी महानिरीक्षक (आईजीपी) लाई दज्र्यानी चिह्न प्रधानमन्त्रीबाटै लगाउने व्यवस्था मिलाउने पहल गर्ने बताएका हुन्। यसअघि यस्तो अभ्यासको चर्चा भए पनि व्यवहारमा गृहसचिवबाटै दज्र्यानी चिह्न लगाउने प्रचलन कायम रहँदै आएको थियो।
गृहमन्त्री गुरुङले प्रहरी संगठनमाथि हुने राजनीतिक दबाब अन्त्य गरिने स्पष्ट पार्दै आफ्नो तर्फबाट र आफू संलग्न दलबाट कुनै हस्तक्षेप नहुने बताएका छन्। उनले कार्यसम्पादनकै आधारमा सरुवा र बढुवा हुने व्यवस्था लागू गरिने पनि उल्लेख गरे।
प्रहरीको मनोबल बढाउन सेवा–सुविधा सुधार, तल्लो तहका कर्मचारीका समस्या समाधान तथा पोषणयुक्त खानाको व्यवस्था गर्ने योजना अघि सारिएको छ। दंगा नियन्त्रणमा खटिने प्रहरीलाई आवश्यक सुरक्षासामग्री बिना फिल्डमा नपठाइने पनि उनले बताए।
आपतकालीन अवस्थामा प्रहरी सवारीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने, उद्धारका लागि विशेष तालिम दिने तथा नागरिकसँग सम्मानजनक व्यवहार गर्न निर्देशन दिइएको छ। साथै, प्रहरी पोसाक नेपालमै उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना समेत उनले प्रस्तुत गरे।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले प्रहरी मुख्यालयभित्र रहेका विभिन्न इकाइहरू अवलोकन गर्दै संगठनलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउने आवश्यकता औंल्याए।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरीले कठिन परिस्थितिमा पनि जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको उल्लेख गरे भने प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संगठनले कानुन र मानव अधिकारको दायराभित्र रही सेवा दिँदै आएको बताए।

