१३ बैशाख, रौतहट :नेपाली कांग्रेस रौतहटले सदरमुकाम गौर स्थित पूर्वाधार विकास कार्यालयमा ताल्चा लगाएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिलकुमार यादवले प्रदेशबाट आएको विकास निर्माण सम्बन्धी कागजातहरु हेरफेर गरेको, कार्यालय प्रमुख विनोद ठाकुर कार्यालयमा नबसी अन्यत्र गायव रहदै आएको र विगतमा पठाइएका पत्रहरु आर्थिक चलखेल गरेर अन्य व्यक्तिलाई दिदै आएको आरोप लगाउदै पूर्वाधार विकास कार्यालयमा ताल्चा लगाइदिएका हुन् ।
वर्तमान बहालबाला मन्त्रीको इशारामा कार्यालय प्रमुख ठाकुरले सबै कागजातहरु हेरफेर गरेर गलत कामगर्न खोजेकोले कार्यालयमा ताल्चा लगाउनु परेको यादवले बताए ।
नेपाली काँग्रेस मधेश प्रदेशका सूचना संचार विभागका प्रमुख नितेशकुमार गुप्ताले बहालवाला भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको निर्देशनमा विगतमा आएका योजनाहरुलाई लथालिंग बनाउने कार्यमा कार्यालय प्रमुख ठाकुर र त्यसमा कार्यरत इन्जिनियर रामबाबु साहले रकम लिएर पत्र दिदै आएको आरोप लगाए ।
पूर्वाधार विकास कार्यालयको प्रमुख ठाकुर र इन्जिनियर साहले १५ प्रतिशत कमिशन वापत रकम लिएर योजनाको कागजपत्र दिइरहेको तथा कामसम्पन्न भईसकेका योजनाहरुको भुक्तानी गर्नु अघि १० प्रतिशत कमिशन लिएर भुक्तानी दिदै आएको आरोप गुप्ताले लगाए ।
कमिशन वापतको रकम नपाउदा सम्म कुनै भुक्तानीको प्रक्रिया अगाडि नबढाउने कर्मचारीहरुलाई आवश्यक कारवाही गर्नुपर्ने माँग गुप्ताले गरे ।
पूर्वाधार विकास कार्यालय रौतहटका प्रमुख इन्जिनियर विनोद ठाकुरले आरोपमा कुनै सत्यता नरहेको दाबी गरे ।
आफू फिल्डमा रहेको हुँदा कार्यालयमा ताला लगाउनु अत्यन्तै दुखद कार्य भएको प्रमुख ठाकुरले बताए ।